काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा नेपाल आदिवासी ज्ञान सम्मेलन– २०८२ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नारासहित प्रतिष्ठानको रजत जयन्ती मनाउने जानकारी दिएको हो।
सम्मेलनमा प्रतिष्ठानको स्थापनादेखि हालसम्मका उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे समेत जानकारी प्रस्तुत गरिएको थियो। पत्रकार सम्मेलनमा उपाध्यक्ष रेसम गुरुङले माघ २७ गते आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने बताए।
कार्यपत्रमा भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण र समावेशी विकासका विविध पक्ष समेटिने छन्। उपाध्यक्ष गुरुङले भने, “आदिवासी जनजातिको मौलिक ज्ञान र अनुभवलाई अभिलेखीकरण गर्दै राष्ट्रिय विकाससँग जोड्नु आजको आवश्यकता हो। रजत जयन्ती तथा ज्ञान सम्मेलनले नीति निर्माण तहसम्म प्रभाव पार्ने अपेक्षा छ।”
सम्मेलन र महोत्सवकै अवसरमा प्रतिष्ठानका अध्यक्ष एवं प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आतिथ्यतामा रजत जयन्तीको औपचारिक समापन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
देश–विदेशबाट ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, विद्वान्, अनुसन्धानकर्ता, युवा तथा विद्यार्थीले सम्मेलनमा सहभागी हुने प्रतिष्ठानले अनुमान गरेको छ । सहभागीहरूले आदिवासी जनजातिसँग सम्बन्धित अनुभव आदान–प्रदान, बहस र संवादमार्फत साझा निष्कर्ष निकाल्ने अवसर पाउने छन्।
प्रतिष्ठानले विगत २५ वर्षदेखि आदिवासी जनजातिको पहिचान, अधिकार, सशक्तीकरण, क्षमता विकास र समावेशी राज्य निर्माणमा काम गर्दै आएको उल्लेख गर्दै रजत जयन्तीले संस्थाको भूमिका थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

