काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकपको तयारीस्वरूप आज पहिलो वार्मअप खेल खेल्दैछ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
खेल साँझ सवा ५ बजेदेखि सुरु हुने तालिका छ। यसपछि नेपालले फेब्रुअरी ५ मा क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्नेछ, जुन चेन्नईमै दिउँसो सवा ३ बजे सुरु हुनेछ।
रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली टी–२० विश्वकपमा तेस्रो पटक सहभागिता जनाएको छ।
विश्वकप प्रतियोगिता आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ।
नेपाल रहेको समूहमा स्कटल्यान्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले समूह चरणको पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
समूह चरणका सबै खेल नेपालले मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्नेछ।

