काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालय र निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य रूपमा लागू गर्ने गरी काम अघि बढाउन सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री खरेलले सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउन सरकारी कार्यालयलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए।
उनले भने, “अहिलेकै कार्यकालमा जिआइओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउने गरी काम गर्न आग्रह गर्दछु। यसले सेवा प्रभावकारिता र सुशासन कायम गर्न मद्दत गर्नेछ।”
मन्त्री खरेलले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विभागमा नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको बताए। हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयमा जिआइओएमएस लागू भइसकेको जनाइएको छ।
सरकारी निकायबाट हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै कागजरहित कार्यालय स्थापना गर्ने सरकारको अवधारणाअनुसार यो प्रणाली विकास गरिएको हो।
सूचना प्रविधि विभागद्वारा विकास गरिएको जिआइओएमएसमार्फत विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्र दर्ता र चलानी, हाजिरी, बिदा तथा काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षर प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने र त्यसपछि बन्ने संसद् तथा सरकारमा युवाको वर्चश्व रहने उल्लेख गर्दै यसले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई थप प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरिन्। सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले नीतिगत तथा संरचनागत सुधारमार्फत सेवालाई अझ प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गरे।

