काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश गर्दै बढुवा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। आयोगको अनुसन्धानमा उनले भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट सन् १९८८ मा एसएलसी उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ।
अख्तियारले जारी गरेको विज्ञप्तिमा नक्कली एसएलसी प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको देखिएको उल्लेख छ।
त्यही नक्कली प्रमाणपत्र प्रयोग गरी गिरीले विसं २०५२ मङ्सिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएको र क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ।
नक्कली प्रमाणपत्रकै आधारमा पद, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
यो प्रकरणले विश्वविद्यालयको विश्वसनियता माथि प्रश्नचिह्न खडा गरेको छ भने प्रहरी संगठनभित्रको भर्ना र बढुवा प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

