आयात बढेको बढ्यै, खुम्चियो निर्यात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै मुलुकको वैदेशिक व्यापार सन्तुलन गम्भीर रूपमा चुक्दै गएको छ। मङ्सिर मसान्तसम्म नेपालले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार स्थिति प्रतिवेदनअनुसार यस अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ प्रतिशत र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको छ।
व्यापार घाटाको मुख्य बोझ भारत र चीनसँगको कारोबारले बढाएको देखिएको छ। पाँच महिनामा भारतसँग मात्रै तीन खर्ब ३९ अर्ब दुई करोड रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ। भारतबाट चार खर्ब ३४ अर्ब छ करोड ४२ लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ९५ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको छ।
चीनसँगको व्यापार झनै असन्तुलित देखिएको छ। यस अवधिमा चीनबाट एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात हुँदा निर्यात ४६ करोड ६८ लाख रुपैयाँमा सीमित रहँदा नेपालले एक खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरेको छ।
कतिपय मुलुकसँग भने नेपाल व्यापार नाफामा देखिएको छ। पछिल्लो पाँच महिनामा रोमानियासँग छ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको व्यापार नाफा भएको छ। स्वीडेन, इराकलगायतका मुलुकसँग पनि नेपाल नाफामा रहेको भन्सार विभागले जनाएको छ।
आयाततर्फ पेट्रोलियम पदार्थको दबदबा कायमै छ। पाँच महिनामा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँको डिजेल, २७ अर्ब ३३ करोड दुई लाख रुपैयाँको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ। यस्तै १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँका स्मार्टफोन, ४६ अर्ब ९७ करोड रुपैयाँको कच्चा सोयाबिन तेल र २१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँका फलामजन्य वस्तु आयात भएका छन्।
निर्याततर्फ भने सोयाबिन तेल शीर्ष स्थानमा रहेको छ। यस अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। त्यसपछि पाँच अर्ब ५३ करोड ३२ लाख रुपैयाँको ठूलो अलैँची, चार अर्ब १३ करोड ३४ लाख रुपैयाँको कार्पेट र तीन अर्ब ७३ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ।
विश्लेषकहरूका अनुसार आयातमुखी अर्थतन्त्र र सीमित उत्पादन क्षमता कायम रहँदा व्यापार घाटा झनै गहिरिँदै जाने जोखिम देखिएको छ।

