काठमाडौं । जेनजी विद्रोहका मागहरू बेवास्ता गरिएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिएको छ। सरकार जेनजी विद्रोहको भावनाअनुरूप अघि नबढेको आरोप लगाउँदै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा सोमबारबाट प्रदर्शन गरेका हुन्।
यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै जेनजी अगुवा मिराज ढुंगाना, रविकिरण हमालसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। त्यसको विरोधस्वरूप मंगलबारको प्रदर्शन झनै चर्किएको देखिएको छ।
प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अतिभो राजनीतिक खेल, अब सरकार फेल’, ‘घाइतेका माग पूरा गर’ र ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा उत्रिएका छन्।
जेनजी समूहहरूले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापना गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नलाई कारबाही गर्नुपर्ने माग अघि सारेका छन्।
माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी उनीहरूले दिएका छन्।
माइतीघर क्षेत्रमा ठूलो संख्यमा प्रहरीको परिचालन गरिएको छ भने कुनै पनि बेला अवस्था तनावग्रस्त बन्न सक्ने आँकलन गरी सम्वन्धित पक्षलाई सचेत रहन सूचित गरिएको छ ।

