काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका विभिन्न क्षेत्रमा सामाजिक, शैक्षिक र मानवीय कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासअन्तर्गत कार्तिक र मङ्सिर महिनामा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार सुधार, दिगो विकास लक्ष्य तथा मानव सेवा क्षेत्रलाई समेटेर कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
सीएसआर कार्यक्रमअन्तर्गत ललितपुरको ठेचोस्थित ज्येष्ठ नागरिक चौतारी तथा सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लामा रहेका ज्येष्ठ नागरिकका लागि पूर्ण स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर तथा नसर्ने रोग रोकथामसम्बन्धी कार्यशालाका लागि बैंकले आर्थिक सहयोग गरेको छ।
यसैगरी, भदौ महिनाको आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्यका लागि पाँच थान कम्प्युटर सेट र पाँच थान टेबल प्रदान गरिएको छ।
हुम्लाको सिमकोटदेखि ४४ कोष दक्षिणपूर्व रहेको अदानचुली गाउँपालिका–१ का दलित समुदायका विपन्न परिवार, अनाथ बालबालिका तथा एकल महिला–पुरुषलाई खाद्यान्न सहयोग पुर्याउन एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोटलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।
शिक्षा क्षेत्रतर्फ बागलुङ, सल्यान, झापा लगायतका जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राका लागि सुरक्षित शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरिएको छ। साथै ललितपुरको बालकुमारी आधारभूत विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई जाडो कपडा वितरण गरिएको छ।
त्यस्तै गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मुनलाईट सोसाइटी नेपालसँगको सहकार्यमा शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमबाट देशको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

