नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । विभिन्न घटक र धारहरू एकीकृत भएर बनेको यस पार्टीले यही २९ गते नयाँ केन्द्रीय सदस्यहरूको औपचारिक शपथग्रहण कार्यक्रम आयोजना गर्न लागेको हो । पार्टी नेतृत्वका अनुसार यो विस्तारलाई संगठन सुदृढीकरण र राजनीतिक प्रभाव विस्तारको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
पार्टीका नेता प्रेमबहादुर सिंहले जानकारी दिएअनुसार विस्तारपछि केन्द्रीय समितिको कुल संख्या २४९९ पुग्नेछ । उनका अनुसार देशभर पार्टीप्रति बढ्दो आकर्षण, जनआधारको विस्तार र संगठनभित्रको प्रतिनिधित्व सुनिश्चित गर्न समिति विस्तार आवश्यक भएको हो । “पार्टीमा जनलहर स्पष्ट देखिएको छ, त्यसलाई संस्थागत गर्न केन्द्रीय समिति विस्तार गरिएको हो,” उनले भने।
हालै सम्पन्न निर्वाचन प्रक्रियामा समानुपातिक नामावली सूचीमार्फत नेपाली कम्युनिस्ट पार्टीले अन्य दलहरूको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको पार्टीको दाबी छ । समावेशी प्रतिनिधित्व, संगठनात्मक अनुशासन र स्पष्ट वैचारिक दिशाका कारण पार्टीप्रति जनविश्वास बढ्दै गएको नेताहरूको भनाइ छ। यही उपलब्धिले पार्टीलाई नयाँ राजनीतिक उचाइतर्फ अघि बढाएको विश्लेषण गरिएको छ।

केन्द्रीय समिति विस्तारसँगै पार्टीको काँधमा थप जिम्मेवारी पनि आएको नेताहरू स्वीकार्छन् । प्राप्त उपलब्धिको रक्षा गर्दै जनअपेक्षाअनुसार काम गर्नु, संगठनभित्र एकता कायम राख्नु र राजनीतिक स्थायित्वका लागि जिम्मेवार भूमिका निर्वाह गर्नु अहिलेको मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ।
पार्टी नेतृत्वले केन्द्रीय समितिमा विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गरिने जनाएको छ । २९ गते हुने शपथग्रहण कार्यक्रमपछि पार्टीले संगठनात्मक गतिविधि थप सक्रिय बनाउने र जनस्तरसम्म प्रभावकारी रूपमा पुग्ने रणनीति अघि सार्ने तयारी गरेको छ।

