काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीको बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा धादिङ निवासी राजु सापकोटाको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ । सापकोटाको असामयिक निधनको खबरले पार्टी पंक्ति र समग्र कम्युनिस्ट आन्दोलन स्तब्ध बनेको छ।
पार्टी स्रोतबाट प्राप्त जानकारीअनुसार सापकोटा सवार मोटरसाइकल दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको निधन भएको हो ।
लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय सापकोटा इमानदार, अनुशासित र जनमुखी नेताका रूपमा परिचित थिए।
उनको निधनले पार्टीले एक प्रतिबद्ध नेता र धादिङले एक सचेत समाजसेवी गुमाएको छ। कम्रेड सापकोटाको योगदान र संघर्ष सधैँ स्मरणीय रहने पार्टीका नेताहरूले बताएका छन्।
स्वर्गीय कम्रेड राजु सापकोटाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
भौतिक रूपमा हामीबीच नरहे पनि उनका विचार, संघर्ष र सम्झना सदैव जीवित रहनेछन्।

