काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्ने एकमात्र उपाय निर्वाचन नै भएको बताएका छन्। केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसद् पुनःस्थापनाको बहसभन्दा बाहिर निस्केर राजनीतिक दलहरू चुनावको तयारीमा जुट्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री दाहालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। राजनीतिक अस्थिरताले सुशासन कमजोर बनेको उल्लेख गर्दै उनले निर्वाचनमार्फत जनताको मतबाट वैध सरकार निर्माण गर्नुपर्ने धारणा राखे।
उनले समान वैचारिक आधार भएका वाम शक्तिहरूबीच ध्रुवीकरणको प्रक्रिया सुरु भइसकेको दाबी गर्दै केही दिनभित्रै अन्य दलसँग पनि एकता हुने जानकारी दिए। वाम एकताले देशलाई राजनीतिक स्थायित्वको दिशामा लैजाने उनको भनाइ थियो।
कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शन स्पष्ट रुपमा समाजवादी कार्यक्रममै आधारित रहेकाले जनतामा भरोसा बढ्दै गएको बताए। विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अझ सशक्त बनाइने समेत उनले उल्लेख गरे।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोली नेकपामा प्रवेश गरेको छ।
पार्टीले नयाँ प्रवेशकर्तालाई औपचारिक रूपमा स्वागत गरेको छ।

