काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. (PhD) सुरेन्द्र प्रसाद ढकाल चर्चित नेता रविन्द्र मिश्रका प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। शैक्षिक उपलब्धि, व्यक्तिगत इमानदारी र समाजसेवामा निरन्तर सक्रियताका कारण ढकालले मतदातामाझ फरक पहिचान बनाउँदै गएका छन्।
ढकाल अध्ययनमा उत्कृष्ट मानिन्छन्। स्वदेश तथा विदेशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनी विभिन्न तहमा गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीका रूपमा परिचित छन्। शैक्षिक जीवनभर अनुशासन, अनुसन्धान र समाजप्रतिको जिम्मेवारीलाई मूल मन्त्र बनाएका ढकालले शिक्षा र ज्ञानलाई व्यवहारमा उतार्दै आएका छन्।
उनको अर्को उल्लेखनीय पक्ष भनेको व्यक्तिगत सम्पत्तिलाई समाजसेवामा प्रयोग गर्ने प्रतिबद्धता हो। ढकालले आफ्नो आय र सम्पत्तिको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य, विपन्न समुदायको सशक्तीकरण तथा सामाजिक अभियानमा खर्च गर्दै आएका छन्। “राजनीति सेवा हो, व्यापार होइन” भन्ने धारणा राख्ने ढकालले राजनीतिको माध्यमबाट सामाजिक न्याय र समानताको पक्षमा काम गर्ने बताएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका ढकालले पार्टीगत स्वार्थभन्दा माथि उठेर जनताको प्रत्यक्ष सरोकारका मुद्दालाई प्राथमिकता दिने दाबी गरेका छन्। महँगी नियन्त्रण, पारदर्शी शासन, शिक्षा–स्वास्थ्यमा सुधार, युवालाई रोजगारी र शहरी व्यवस्थापन उनका प्रमुख एजेन्डा हुन्।
काठमाडौँ–१ का मतदातामाझ वैकल्पिक र इमानदार नेतृत्वको खोजी भइरहेका बेला सुरेन्द्र ढकालको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

