काठमाडौं । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको बहुप्रतिक्षित भिडन्त खेल्न पाकिस्तान अन्ततः तयार भएको छ। १० दिनअघि पाकिस्तानले भारतसँग खेल्न अस्वीकार गरेपछि उत्पन्न भएको लामो गतिरोध अन्त्य भएको हो।
पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा भारत र पाकिस्तानबीच खेल हुने सुनिश्चित गरेका छन्।
पाकिस्तान सरकारले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “बहुपक्षीय छलफल तथा मित्र राष्ट्रहरूको अनुरोधलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई फेब्रुअरी १५ मा हुने खेलमा सहभागी हुन निर्देशन दिएको छ। यो निर्णय खेलको भावना जोगाउन तथा विश्वव्यापी रूपमा क्रिकेटको निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।”
भारत–पाकिस्तान भिडन्तलाई व्यावसायिक तथा दर्शक रुचिका हिसाबले यस विश्वकपकै सबैभन्दा महत्त्वपूर्ण खेल मानिँदै आएको छ। यसअघि पाकिस्तानले भारतसँग खेल्न अस्वीकार गर्दा प्रतियोगिताको आयोजना, तालिका र प्रसारण अधिकारसम्बन्धी विषयमा समेत अन्योल सिर्जना भएको थियो।

