काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस र काठमाडौँबीचको दूरी घटाउन तथा आपसी बुझाइ मजबुत बनाउन सर्लाहीबाट उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ। काठमाडौँलाई मधेसको वास्तविक महत्त्व बुझाउन आफूले सचेत रूपमा सर्लाही क्षेत्र नं ४ रोजेको उहाँको भनाइ छ।
गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न सर्लाही–४ का मतदातासँग शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले आफ्नो राजनीतिक यात्राको पृष्ठभूमि र उद्देश्य स्पष्ट गर्नुभयो।
“मेरो परिवार पहाडबाट काठमाडौँ आएको हो, मैले आमाबाट पहाड बुझेँ। काठमाडौँमा हुर्किएकाले सहर बुझें,” उहाँले भन्नुभयो, “पार्टी सभापति भएपछि कांग्रेसलाई हुर्काउने र देशको नेतृत्व गर्न मधेसलाई नबुझी हुँदैन भन्ने निष्कर्षमा पुगेँ। मजस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, त्यसैले आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको वास्तविक महत्त्व बुझाउने मेरो लक्ष्य हो।”
सभापति थापाले आगामी पाँच वर्षमा योजनाबद्ध ढंगले मधेसको समग्र विकासमा काम गरेर आम नागरिकको दैनिक जीवनमा ठोस परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो।
अहिले काठमाडौँ–४ का बासिन्दाले यहीँबाट चुनाव लड्न आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै विश्वासका साथ आग्रह गर्ने वातावरण बनाउनेछु।
“सर्लाही–४ मा शिक्षा, स्वास्थ्य, प्रविधि र कृषिलगायत क्षेत्रको गहिरो अध्ययन गरिएको छ। टोलीले दिएका सुझावका आधारमा आवश्यकताअनुसार काम अघि बढाउनेछु,” उहाँले भन्नुभयो, “अहिले काठमाडौँ–४ का बासिन्दाले यहीँबाट चुनाव लड्न आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै विश्वासका साथ आग्रह गर्ने वातावरण बनाउनेछु।”
सभापति थापाले आफ्नो ज्ञान, अनुभव र राष्ट्रिय–अन्तर्राष्ट्रिय नेटवर्कको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र उद्यमशीलताको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसो गर्न सके क्रमशः मधेसका संरचनागत समस्या कम हुँदै जाने उहाँको विश्वास छ।

