काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोललाई दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार डंगोलले माघ २३ देखि कम्पनीको प्रशासनिक र प्राविधिक नेतृत्व सम्हालेकी हुन्।
निर्णय कार्यान्वयनसँगै डंगोलले टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा पदभार सम्हालेकी छन्। उनले कम्पनीको दैनिक सञ्चालन, दीर्घकालीन परियोजना र नीतिगत समन्वयको नेतृत्व गर्नेछिन्।
नेपाल टेलिकम पछिल्लो आठ महिनादेखि नेतृत्व संकटमा रहेको थियो। २०८१ भदौमा नियुक्त प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएकी थिइन्। २०८२ जेठ २५ मा पहाडी पदमुक्त भएपछि कम्पनी कार्यवाहक व्यवस्थामा चलेको थियो।
रीना डंगोल टेलिकमभित्र अनुभवी प्राविधिक नेतृत्वका रूपमा चिनिन्छिन्।
उनले जिम्मेवारी सम्हालेको समय कम्पनीले ‘फाइभ-जी’ परीक्षण अलपत्र परेको, नाफामा निरन्तर गिरावट आएको र सेवा गुणस्तर खस्कँदो अवस्थामा रहेको छ।
डंगोलले आफ्नो मुख्य प्राथमिकता कम्पनीको सेवा गुणस्तर सुधार र सञ्चालनलाई व्यवस्थित बनाउनु रहेको बताएकी छन्।

