काठमाडौं ।
जेनजेड रेड फोर्स नेपालद्वारा आयोजित जेन्जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीको प्राङ्गण, पेरिसडाँडामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टी नेतृत्वदेखि जेन–जी युवासम्मको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रहेका थिए भने विशेष अतिथिका रूपमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, चिरन सीलगायतको उपस्थिति थियो। जेनजेड रेड फोर्सका अध्यक्ष स्मृती तिमिल्सिना, मुस्कान खातुनलगायत जेन–जी अभियन्ताहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले माओवादी वा व्यक्ति केन्द्रित राजनीतिभन्दा माथि उठेर नेपाली कम्युनिस्ट पार्टी केन्द्रित भएर पार्टीको स्पिरिटअनुसार काम गर्नुपर्नेमा जोड दिए। उनले युवाहरू पार्टीको वैचारिक आधार, अनुशासन र सामूहिक नेतृत्वमा विश्वास गरेर अघि बढ्नुपर्ने बताए।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीका हरेक कमिटीमा जेन–जी युवाहरूको कम्तीमा ४० प्रतिशत सहभागिता सुनिश्चित गरिने उद्घोष गरे। उनले युवा पुस्ता पार्टीको भविष्य भएको उल्लेख गर्दै नेतृत्वमा उनीहरूको निर्णायक भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा नेता चिरन सीले गीत प्रस्तुत गर्दै जेन–जी युवाहरूलाई नचाएका थिए। जेनजेड रेड फोर्सकी अध्यक्ष स्मृती तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिँदै “भ्रष्टाचारीको ढाड भाँच्ने” प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत–संगीत र एउटा नाटक समेत मञ्चन गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमले जेन–जी युवालाई राजनीतिक रूपमा सचेत बनाउँदै कम्युनिस्ट आन्दोलनसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ।
Previous Articleरहेनन् इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङ
Next Article आजको विनिमय दर: कुन मुद्राको भाउ बढ्यो, कुन घट्यो ?

