जेनजी समूहद्वारा सोमबारबाट आन्दोलन घोषणा
काठमाडौँ । जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको विकल्प खोजिनुपर्ने माग गर्दै सर्वपक्षीय सरकार गठनका लागि आन्दोलन घोषणा गरेको छ।
आइतबार डिल्लीबजारस्थित भोजनगृहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियन्ता ढुंगानाले वर्तमान सरकारको औचित्य र वैधानिकता समाप्त भइसकेको आरोप लगाए। उनले आफ्ना एजेन्डासहित सोमबारदेखि सडक आन्दोलन सुरु गर्ने जानकारी दिए।
प्रधानमन्त्रीले पद ओगट्ने सीमित भूमिका निर्वाह गरेको आरोप लगाउँदै ढुंगानाले वर्तमान सरकारबाट निष्पक्ष निर्वाचन हुने विश्वास नरहेको बताए। देशलाई अन्योलमा राखिरहनुभन्दा सर्वपक्षीय सरकार गठन गरेर राजनीतिक निकास दिनुपर्नेमा उनले जोड दिए।
सरकार औचित्यहीन भइसकेको दाबी गर्दै ढुंगानाले देशलाई समृद्ध र सुशासित बनाउन तत्काल वैकल्पिक राजनीतिक व्यवस्था खोजिनुपर्ने आवश्यकता औँल्याए।

