काठमाडौँ । सुनका गरगहना चोरी तथा बिक्री बितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी तथा बिक्रीमा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका निवासी तथा हाल काठमाडौँको नयाँ बसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिका–१ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा क्षेत्री सुनका गरगहना चोरीमा र विक चोरी भएका गरगहना बेचबिखनमा संलग्न रहेको खुलेको छ।
प्रहरीले क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान तथा अमेरिकी डलरसमेत बरामद गरेको छ।
त्यसैगरी विकको साथबाट सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरी एक थान, सिक्री एक थान, पाउजू एक थान र बाला एक थानलगायतका सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

