काठमाडौँ । भारतीय युवा टोलीलाई पराजित गर्दै पाकिस्तानले यू–१९ एसिया कपको उपाधि उचालेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तानले भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमै १५६ रनमा समेटियो।
भारतका लागि दीपेश देवेन्द्रनले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। ओपनर वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आरोन भार्गेसले १६ तथा अभिज्ञान कुन्डुले १३ रन जोडे।
भारतलाई सस्तैमा समेट्न पाकिस्तानका लागि अली राजाले ४ विकेट लिए। मोहम्मद संय्याम, अब्दुल सुभान र हुजैफा हसनले समान २–२ विकेट हात पारे।
यसअघि युएईको आईसीसी एकेडेमीमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको भारतीय टोलीविरुद्ध पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको विशाल योगफल तयार पारेको थियो।
पाकिस्तानका लागि ओपनर समिर मिन्हासले उत्कृष्ट शतक प्रहार गर्दै सर्वाधिक १७२ रन बनाए। उनले ११३ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अहमद हुसैनले ५६ रनको योगदान दिए। त्यसैगरी उस्मान खानले ३५, कप्तान फरहान युसुफले १९ र हम्जा जाहुरले १८ रन जोडे।
भारतका लागि दीपेशले ३ विकेट लिए भने हेनिल पटेल, खिलान पटेल र कनिष्क चौहानले समान १–१ विकेट लिए।

