काठमाडौँ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटमध्ये १७ सिटका लागि आज मतदान हुँदैछ। आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये १७ पदका लागि आज निर्वाचन हुन लागेको हो।
रिक्त हुन लागेको कोशी प्रदेशको एक सिटमा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ। आज निर्वाचन हुन लागेका पदका लागि गत पुस २३ गते उम्मेदवारी दर्ता गरिएको थियो। कानुनी व्यवस्था अनुसार राष्ट्रियसभाका रिक्त पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ।
निर्वाचनका लागि सबै प्रदेशका राजधानीमा मतदानस्थल तोकिएको छ। यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन बनेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।
रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा कांग्रेस, ८ सिटमा एमाले र १ सिटमा जसपाबीच भागबण्डा भएको छ। आगामी फागुन २० गतेदेखि एमालेका आठ, नेकपाका आठ, जसपाका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक तथा एक मनोनीत गरी कुल १९ सांसदको पदावधि सकिँदैछ।
कार्यकाल सकिन लागेका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य १६ जना र स्थानीय तहका ११ जना जनप्रतिनिधिले पनि राजीनामा दिएका छन्।
कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल रहेका छन्। भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य बनेका हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।
त्यसैगरी एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको पनि कार्यकाल सकिन लागेको छ। जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि पदावधि समाप्त हुँदैछ।
राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये १७ सदस्यका लागि आज निर्वाचन हुन लागेको हो। कार्यकाल सकिन लागेका सांसदमा कांग्रेसका कुनै पनि सदस्य छैनन्। यद्यपि, मतभारका हिसाबले कांग्रेस अहिले सबैभन्दा अगाडि रहेको छ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ। २०७६ फागुनमा निर्वाचित भई आएका राष्ट्रियसभा सदस्यहरूको कार्यकाल एक महिनापछि सकिन लागेको हो।

