काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गर्न लागिएको निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि प्रारम्भ हुने भएको छ।
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत देशभर कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ।
निर्वाचन प्रहरीका लागि कुल १ लाख ९६ हजार ४७० आवेदन परेका छन्। यद्यपि, ३२ जिल्लामा मागभन्दा कम आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। छनोट प्रक्रिया पर्सि बुधबारसम्म सम्पन्न गरी मापदण्ड पूरा गरेका उम्मेदवारलाई तालिममा पठाउने तयारी गरिएको छ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ। मागभन्दा कम आवेदन परेका जिल्लामा भने धेरै आवेदन परेका छिमेकी जिल्लाबाट निर्वाचन प्रहरी खटाइने व्यवस्था मिलाइने भएको छ।
दुवै सुरक्षा निकायले गत पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन खुला गरेका थिए। तर, अपेक्षाकृत आवेदन नपरेपछि माघ ३ गतेसम्म म्याद थप गरिएको थियो। थपिएको अवधिसम्म आवेदन दिने संख्या १ लाख ९६ हजार ४७० पुगेको हो।
आवेदनमध्ये नेपाल प्रहरीतर्फ १ लाख ८१ हजार १७४ र सशस्त्र प्रहरी बलतर्फ १५ हजार २९६ आवेदन परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
आवेदन कम परेका जिल्लाहरूमा कोशी प्रदेशका ८, बागमतीका ६, गण्डकीका १०, लुम्बिनीका चार, मधेश प्रदेशका चार र सुदूरपश्चिमका चार जिल्ला रहेका छन्।
आवेदन न्यून रहेका जिल्लामा आवश्यक संख्या पूर्ति गर्न छिमेकी जिल्लाबाट निर्वाचन प्रहरी व्यवस्थापन गर्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।

