काठमाडौँ । आज तामाङ समुदायको सोनाम ल्होछार । आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार मनाउने गरिन्छ । काठमाडौँ उपत्यकासहित तामाङ बाहुल्यता रहेका क्षेत्रमा ल्होछारलाई सांस्कृतिक महोत्सवका रूपमा मनाइँदै छ।
नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।
यद्यपि, मञ्जुश्री पात्रोअनुसार यस वर्ष सोनाम ल्होछार २८६२ औँ वर्ष एक महिनापछि मात्रै सुरु हुने भएको छ। चन्द्रपात्रो परम्पराअनुसार मनाइने ल्होछार अर्थात् नयाँ वर्ष यसपटक मलमासका कारण फागुन ६ गते परेको छ।
तर सौर्य पात्रोमा आधारित विक्रम संवत् पात्रोमा आजै ल्हो फेर्ने उल्लेख भई सरकारले सार्वजनिक बिदा दिएकोले आज सामूहिक सांस्कृतिक कार्यक्रमहरू मात्रै आयोजना गरिएको नेपाल तामाङ घेदुङले जनाएको छ। घर–घरमा गरिने पूजापाठ र औपचारिक रूपमा नयाँ वर्षको स्वागत भने फागुन ६ गते मात्रै हुने घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए।
यस वर्ष सर्प वर्षलाई विदाइ गरी ता (घोडा) वर्षको स्वागत गरिँदैछ।
अध्यक्ष गोलेका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सरोकारवालासँग पर्याप्त छलफल नगरी चाडपर्व र सार्वजनिक बिदा निर्धारण गर्दा यस्ता अन्योल र समस्या पटक–पटक दोहोरिने गरेका छन्। पञ्चाङ्गलाई समावेशी बनाउन सरकारलाई पटक–पटक आग्रह गरिए पनि सम्बोधन नभएको तामाङ समुदायको गुनासो छ।
सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको हुन्छ। तामाङ समुदायसहित हिमाली क्षेत्रका समुदायले मनाउने यो नयाँ वर्ष चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि एकै समयमा मनाइने गरिन्छ। ती देशहरूमा समेत यस वर्ष एक महिनापछि मात्रै ल्होछार मनाइँदैछ।
सरकारले सार्वजनिक बिदा दिएको अवसरमा आज काठमाडौँको टुँडिखेलसहित देशभर विभिन्न ल्होछार कार्यक्रम आयोजना गरिएका छन्। नेपाल तामाङ घेदुङको संयोजनमा गठित ल्होछार मूल समारोह समितिले टुँडिखेलमा आयोजना गर्न लागेको सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थिती रहने घेदुङका महासचिव जगतमान दोङले जानकारी दिए।
महोत्सवमा तामाङ समुदायका मौलिक झाँकी, बोम्बो तथा ताम्बा स्याबा, घोडाचढी र परम्परागत नृत्य प्रस्तुत गरिनेछ। साथै, तामाङ समुदायबाट विद्यावारिधी हासिल गरेका, निजामती सेवा, खेलकुद, पर्यटन, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको महासचिव दोङले बताए।

