काठमाडौं
गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख स्वकीय उद्धवप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुस २८ गतेको बैठकले ‘‘गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने’’ निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जनाइएको छ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारी निजी मिडियाको नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको अनुभवी पत्रकार हुनुहुन्छ। उहाँ यसअघि अन्नपूर्ण पोस्टको प्रधान सम्पादकको जिम्मेवारीमा रहनुभएको थियो। त्यस्तै, कान्तिपुर दैनिकमा विभिन्न विभागको नेतृत्वदायी भूमिकामा रहँदै १८ वर्षसम्म कार्य अनुभव रहेको छ।
पत्रकार भण्डारीका ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ कृति प्रकाशित छन्। ‘समाचारको भाषा’ पत्रकारिता र समाचार लेखनसँग सम्बन्धित कृति हो भने ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ उपन्यास कृति हुन्।
Previous Articleनेकपामा जसपा उपाध्यक्ष शिवलाल थापा समूह र लिम्बूवान क्रान्तिकारी पार्टी समाहित, १९ दलको एकता
Next Article समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारको नाम फिर्ता

