काठमाडौँ — प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न राजनीतिक दलका बन्दसूचीमा समावेश ८५ उम्मेदवारले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो।
आयोगका अनुसार जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका हुन्। जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएपछि बन्दसूची मिलाउन आवश्यक परेकाले केही उम्मेदवारको नाम फिर्ता लिइएको सम्बन्धित दलले स्पष्ट पारेको छ। आयोगले अन्तिम सूची सार्वजनिक हुँदा नाम फिर्ता गर्ने उम्मेदवारको संख्या अझै बढ्न सक्ने जनाएको छ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक र १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

