पेरिसडाँडामा एकता घोषणा, प्रचण्ड–नेपालद्वारा नेता, कार्यकर्तालाई पार्टीमा स्वागत
काठमाडौँ — जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा दुवै पार्टी नेकपामा विलय भएको औपचारिक घोषणा गरिएको हो।
शिवलाल थापा मगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएका हुन्।
एकता घोषणासभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष लिम्बू र जनता समाजवादी पार्टीका उपाध्यक्ष मगरले एकतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले नेकपा मुलुकको पहिलो राजनीतिक शक्ति बन्ने अभियानका साथ अघि बढिरहेको बताए। वामपन्थी शक्तिहरूको एकताबाट मात्रै समाजवादको यात्रालाई अघि बढाउन सकिने उनको भनाइ थियो।
सहसंयोजक नेपालले विगतका कमजोरी स्वीकार गर्दै जनआकाङ्क्षालाई सर्वोपरि राखेर अघि बढ्ने सङ्कल्पका कारण देशभर नेकपाप्रति जनलहर बढ्दै गएको बताए। “पार्टीको इमान्दारिता, निष्ठा र समर्पणमाथि विश्वास गर्दै ठूलो जनसमुदाय नेकपातर्फ आकर्षित भइरहेको छ,” पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने।

