सिन्धुपाल्चोक — चीनको न्यालम–खासा क्षेत्रसँग जोडिएको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ। आगलागी नियन्त्रणमा नआएपछि चिनियाँ प्रशासनले सुरक्षा जोखिम देखाउँदै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो।
आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए। आगो फैलिँदै गएपछि स्थानीय बासिन्दा, पर्यटक तथा मालबाहक सवारीसाधनको आवागमनसमेत रोकिएको उनले बताए।
गत वर्षको बाढीका कारण रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको प्रहरी निरीक्षक राईले बताए। नाका बन्द भएसँगै चीनबाट सामान बोकेर आएका कन्टेनरहरू बीचमै रोकिँदा समस्या उत्पन्न भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए।
यसैबीच, म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङस्थित रानीभीर ठाडोपाखा सामुदायिक वनमा बुधबार साँझ ६ः३० बजे डढेलो लागेको छ। डढेलो फैलिएपछि वन आसपासका बासिन्दा त्रसित बनेका छन्।

