काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगर नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ । यससँगै लिम्बूवानको पहिचानको मुद्दा उठाउँदै आएको लिम्बूवान क्रान्तिकारी पार्टी पनि नेकपासँग एकतामा गएको छ । यी दुई दलसहित नेकपामा हालसम्म १९ दल समाहित भएका छन् ।
यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत १७ दल मिलेर नेकपा गठन भएको थियो । सोमबार नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा नेपालका उपाध्यक्ष शिवलाल थापा मगरबीच एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिपत्रमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार—तीनै क्षेत्रमा संघर्षरत रहने उल्लेख छ । साथै समाजवादका लागि नेपालको मौलिक विशेषता, संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, वर्गीय, क्षेत्रीय, जातीय र लैंगिक विभेदको अन्त्य गर्दै समतामूलक न्याय र पूर्ण विभेदरहित समाज निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।
सहमति अनुसार जसपा नेपालका उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा रहेको समूहका केन्द्रीय समिति, प्रदेश, जिल्ला, जनवर्गीय संगठन तथा क्षेत्र र पालिका तहका समितिमा आबद्ध नेता–कार्यकर्ताहरूलाई आपसी सहमतिका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गरिनेछ ।
त्यस्तै, लिम्बूवानको पहिचानको मुद्दालाई अघि बढाउने उद्देश्यसहित लिम्बूवान क्रान्तिकारी पार्टीसँग पनि एकता भएको छ । नेकपा संयोजक दाहल, सहसंयोजक नेपाल र लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष लिम्बूबीच हस्ताक्षर भएको सहमतिमा लिम्बूवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानजनक र उपयुक्त ढंगले नेकपामा समायोजन गर्ने उल्लेख छ ।
नेकपा नेतृत्वले पछिल्ला एकताहरूले पार्टीलाई वैचारिक, संगठनात्मक र जनआधारका हिसाबले थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

