काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन्जी आन्दोलनपछि निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता हुन नसकेको बताएका छन्।
बुधबार महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने अवस्था नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘समृद्धिका लागि निजी क्षेत्रको संरक्षण अनिवार्य छ, तर निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने ग्यारेन्टी अझै हुन सकेको छैन,’ ढकालले भने, ‘लगानीको वातावरण नहुँदा रोजगारी, आयस्तर र मानव विकास सबै प्रभावित हुन्छ।’
गलत काम गर्नेहरूमाथि समयमै कारबाही नहुँदा दण्डहीनता बढ्ने जोखिम रहेको उनले औंल्याए। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्नमाथि कडा कारबाही गर्न महासंघले सरकारसँग माग गरेको पनि उनले स्मरण गराए।
अध्यक्ष ढकालले निजी क्षेत्र प्रभावित भएको डेडिकेटेड टंकलाइनसम्बन्धी विवाद प्रधानमन्त्रीको पहलमा समाधान उन्मुख भएकोमा धन्यवाद दिँदै यसले निजी क्षेत्रको मनोबलमा सकारात्मक सन्देश जाने बताए।
उनले सरकारको राजस्व वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई सहज, सुरक्षित र प्रोत्साहित वातावरण आवश्यक रहेको धारणा राखे।
‘लगानी नभई रोजगारी हुँदैन, रोजगारी नभई आयस्तर बढ्दैन, आयस्तर नबढे मानव विकास सम्भव हुँदैन,’ उनले भने, ‘राजस्व बढाउन निजी क्षेत्रलाई काम गर्न दिने नीति आवश्यक छ।’
ढकालका अनुसार निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको छ। तर नीतिगत अवरोध, झन्झटिला प्रक्रिया र निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोणका कारण लगानी संकुचित हुँदै गएको उनको दाबी छ ।

