काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच औपचारिक रूपमा पार्टी एकता भएको छ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे।
एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ। पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेन रहने सहमति भएको छ भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राप्रपाकै ‘हलो’ कायम रहनेछ।
यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले पार्टी एकतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा थापा फराकिलो मतान्तरसहित पराजित भएपछि उनले राप्रपा परित्याग गर्दै नयाँ पार्टी राप्रपा नेपाल गठन गरेका थिए।
चार वर्षपछि दुवै नेता पुनः एकै ठाउँ भएका हुन्।

