काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन्। शनिबार अपराह्न ४ बजे प्रधानमन्त्रीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार शीतलनिवासमा प्रधानमन्त्री कार्कीसहित तीनै शीर्ष नेताबीच छलफल भएको थियो। त्यस्तै, शुक्रबार सञ्चारमन्त्री खरेलले देउवा, ओली र प्रचण्डसँग भेट गरी निर्वाचनको अनुकूल वातावरण बनाउन आग्रह गरेका थिए।
मन्त्री खरेलसहित कानूनमन्त्री अनिलकुमार सिन्हाले यसअघि जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयको अनुगमन गर्दै पार्टीका प्रमुख नेताहरूसँग छलफल गरेका थिए।
सरकार फागुन २१ गते निर्वाचन गर्ने तयारीमा रहे पनि दलहरूले शान्ति सुरक्षा लगायतका विषयमा प्रश्न उठाउँदै आएका कारण आवश्यक वातावरण निर्माणका लागि प्रमुुुख राजनीतिक दलका नेतासँग छलफल आयोजना गरिएको हो ।

