काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा लोडसेडिङ्ग (बिजुली कटौती) हुने जनाएको छ। प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ। राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि लोडसेडिङको प्रभाव पर्ने छ ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्य जारी रहेकाले भूमिगत कार्य सम्पन्न भइसकेका केबल जडान गर्नका लागि अस्थायी रूपमा बिजुली कटौती गर्न लागिएको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।
सूचनाअनुसार तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा समयभन्दा अगाडि नै विद्युत् आपूर्ति सुचारु गरिनेछ।

