काठमाडौँ। उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भइसकेपछि उनलाई वर्तमान गैरदलीय सरकारबाट राजीनामा दिन दबाब बढ्दै गएको र सोही दबाबका बीच मन्त्री घिसिङले पद त्याग गरेका हुन्।

प्रधानमन्त्री कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकको रूपमा चर्चित घिसिङ मन्त्री बनेपछि सरकारभित्र प्रभावशाली भूमिकामा रहेका थिए।
यसअघि घिसिङकै संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गरिएको थियो। गत पुस १४ गते उक्त पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता मात्र गरेन, घिसिङलाई उपसभापति बनाउने सहमति समेत गरेको थियो।
राजीनामासँगै अब घिसिङको सक्रिय राजनीतिक यात्राले औपचारिक रूप लिने छ।

प्रधानमन्त्री कार्कीले चार महिना अन्तरिम सरकारमा बसेर खेलेको सकृय भूमिकाको लागि धन्यवादसहित आगामी राजनीतिक यात्राको लागि घिसिङलाई शुभकामना समेत दिएकी थिईन् ।

