काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको औपचारिक रूपमा आह्वान गरेका छन्। बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस महामन्त्री द्वेयले विशेष महाधिवेशन बोलाएका हुन् ।
उनीहरूले कांग्रेस विधानअनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले निवेदन दर्ता गराइसकेकाले पुस २७ र २८ गते तय विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा अपरिहार्य तथा बाध्यकारी भएको बताउँदै विशेष महाधिवेशन आह्वान गरेका हुन्।
विज्ञप्तिमा पार्टी विधानको धारा १७ उपधारा (२) उल्लेख गर्दै २ हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित विशेष महाधिवेसनका लागि निवेदन दर्ता गराइसकेको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारी भएको उल्लेख छ।
महामन्त्रीद्वयका अनुसार केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाओस् भन्ने उद्देश्यले आफूहरूले अधिकतम प्रयास गरे पनि त्यसमा सफलता नपाएपछि विधानअनुसारको प्रक्रिया अघि बढाइएको हो। “बहुमत महाधिवेशन प्रतिनिधिहरूबाट उठाइएको विशेष महाधिवेशनको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ,” विज्ञप्तिमा छ।
पुस २८ गतेभित्र विशेष महाधिवेशन सम्पन्न गर्न हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले गरेको प्रयास उनीहरूको वैधानिक अधिकार भएको पनि महामन्त्रीद्वयले स्पष्ट पारेका छन्।
‘कांग्रेस विधानको धारा ३(१२), धारा २७(१) र धारा १७(२) को व्यवस्थालाई आत्मसात् गर्दै यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरिएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनलाई “बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” भन्दै पार्टीमा नयाँ ऊर्जा भर्ने दृढ संकल्प व्यक्त गरेका छन्।
जस्तोसुकै कठिन परिस्थितिमा पनि कांग्रेसलाई एकढिक्का राख्न आफूहरू कठिबद्ध र प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ।
यसैलाई कतिपयले बजारमा अब नेपाली कांग्रेस अघोषित रुपमा फुटको ढोका भएको समेत उल्लेख गर्न थालेकोप्रति संकेत गर्दै महामन्त्री द्वेयले कुनै पनि हालतमा नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्ने महामन्त्री गगन थापाले बताए ।

