धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको रक्षा गर्नुपर्ने संवेदनशील समयमा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन्।
शनिबार नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै नेता नेपालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस र एमाले ‘ठूला दल हुँदाहुँदै पनि बाहिर ननिस्किएको’ दाबी गरे।
‘देश जोगाउनुपर्ने बेलामा कांग्रेस–एमाले भित्रै लुके,’ उनले भने, ‘राष्ट्रपतिको फोन आएपछि म एकीकृत समाजवादीका तर्फबाट बाहिर निस्किएर भेट्न गएँ, तर ती दलका नेताहरू बाहिर देखिएनन्।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्न निर्वाचन तोकिएकै मितिमा हुनैपर्ने बताए। संविधान जोगाउने दायित्व आफूहरूको काँधमा रहेको उल्लेख गर्दै हालको सुशीला कार्की नेतृत्वको सरकार स्वीकार्य भएकाले चुनाव सार्ने विकल्प नरहेको उनको भनाइ थियो।
संघीयता र गणतन्त्र रक्षाका लागि पार्टी एकता आवश्यक भएको दाबी गर्दै उनले हाल १८ वटा पार्टी एकीकृत भइसकेको जानकारी दिए। ‘यति ठूलो एकता अरू कुनै दलले गर्न सकेका छैनन्,’ उनले भने, ‘नेपाली समाजवाद हाम्रो पार्टीमै छ।’
नेपालले गणतन्त्र र संघीयतामाथि प्रश्न उठे प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन पनि दिए।
साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई जिताउन सक्रिय हुन आग्रह गरे।
विकास निर्माणमा अन्य दल असफल भएको आरोप लगाउँदै नेता नेपालले अबको विकास यात्राको नेतृत्व आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरे।

