काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिँदै आगामी निर्वाचनमा देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै भट्टराईले आफू निरन्तर जनताको सेवामा रहने र प्रत्यक्ष प्रतिस्पर्धाभन्दा बाहिर रहेर अभिभावकीय भूमिकामा योगदान दिने बताए। विभिन्न दल र व्यक्तित्वहरूको आग्रह तथा वर्तमान राजनीतिक अवस्थाको तरलतालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको उनको भनाइ छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, तीव्र आर्थिक विकास र समृद्धिको आधार निर्माणलाई जीवनको मूल उद्देश्यका रूपमा उल्लेख गर्दै उनले आगामी दिनमा दलहरूलाई सल्लाह–सहयोग गर्ने बताएका छन्।
गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ भने नेकपा कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने मैदानमा छन्। यसअघि यही क्षेत्रबाट निर्वाचन लडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक क्षेत्र परिवर्तन गरेका छन्। स्रोतका अनुसार प्रचण्डले पनि भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

