काठमाडौँ । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो।
एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन भने सुनको मूल्य २ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ९ सय ५० अमेरिकी डलर नाघेको छ।
अन्तर्राष्ट्रिय द्वन्द्व चर्किने संकेत, विशेषगरी अमेरिकासँग जोडिएका गतिविधिका कारण विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाउँदा माग र मूल्य दुवै बढिरहेको व्यवसायी बताउँछन्।
शुक्रबार चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँले बढी हो।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

