मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख कर्णद्वारा जिम्मेवारी
काठमाडौँ — मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा डा. सुनिलरञ्जन सिंहलाई प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मंगलबारदेखि लागू हुने गरी सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी प्रदान गरिएको हो।
निमित्त सचिव यादवले संवैधानिक व्यवस्थाअनुसार नियुक्ति गरिएको जानकारी सार्वजनिक गरेका छन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले अब मधेश प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

