काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग कतारमा भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई अब नयाँ चरणमा लैजानुपर्ने समय आएको उल्लेख गरे।
“नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ,” अध्यक्ष ढकालले भने, “कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबीच आत्मीयता र भरोसा निर्माण गरेको छ।”
अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा तथा लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता रहेको उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे।
उनले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमतिलाई स्मरण गर्दै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको बताए। “नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ, अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौँ,” उनले भने।
संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य प्रवर्द्धन, क्षेत्रगत लगानी अवसर पहिचान, व्यवसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउन प्रभावकारी मञ्च हुने अध्यक्ष ढकालको धारणा थियो।
उनले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक लगानी अवसर उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताए। विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेको उनले बताए।
यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन साथै विमाननसम्बन्धी सेवामा कतारी लगानीकर्ताको महत्वपूर्ण भूमिका हुन सक्ने अध्यक्ष ढकालले उल्लेख गरे।
सोमबार भएको भेटका क्रममा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उक्त भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा महासंघसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) लाई छिट्टै अन्तिम रूप दिन आफू सकारात्मक रहेको बताए।
अध्यक्ष ढकालले महासंघको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत तथा कानुनी सुधारहरूको पनि चर्चा गरे। नीतिगत स्थायित्व, डिजिटल प्रणालीको विस्तार, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरणमार्फत सरकार सुधारतर्फ अघि बढिरहेको उनले बताए।
हालै नेपालमा देखिएको युवा (जेन–जी) आन्दोलनलाई सुशासन, पारदर्शिता र देशमै अवसरको चाहनाको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै यी आवाजलाई सही ढंगले सम्बोधन गर्न सके दीर्घकालीन रूपमा संस्थागत सुदृढीकरण र स्थिर व्यवसायिक वातावरण निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो।
अध्यक्ष ढकालले नेपालमा कतारी लगानीलाई स्वागत गर्दै नेपाली व्यवसायीहरूलाई पनि सेवा, पर्यटन, सीप विकास तथा साना तथा मझौला उद्यम क्षेत्रमा कतारमा अवसर खोज्न आग्रह गरे। नियमित व्यवसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, संयुक्त फोरम तथा संयुक्त व्यवसाय परिषद्को शीघ्र सक्रियताले साझा रुचिलाई ठोस परियोजनामा रूपान्तरण गर्न सकिने उनले बताए।
भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा दिए । निमन्त्रणालाई स्वीकार गर्दै अध्यक्ष अल थानीले महासंघको साधारणसभामा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष ढकालले बताएका छन्।

