काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा उक्त सम्मान प्रदान गरिएको हो।
अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरे ।

बैंक तथा बीमा क्षेत्रसहित समग्र वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको आयोजक विकास मिडियाले जनाएको छ।
सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीईओ ज्ञवालीले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गर्नु बैंकका लागि गर्वको विषय भएको बताए। “यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो,” उनले भने।
उनका अनुसार वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सिर्जना, राजस्वमा योगदान तथा ऊर्जा र पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने नबिल बैंकको प्रतिबद्धतालाई यस सम्मानले थप सुदृढ बनाएको छ।
“समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले थप आधार दिएको छ,” उनले भने, “यसले देशको विकासमा अझ सक्रिय भूमिका निर्वाह गर्न थप ऊर्जा प्रदान गरेको छ।”

