काठमाण्डौ । मांगलबार साँझदेखि वीरगञ्जमा लाग्दै आएको कर्फ्यू हटाईएको छ ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन नगर्ने सहमति सहित कर्फ्यू हटाईएको हो । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगातार लगाईएको कर्फ्यु मंगलबार अपराह्न ३:३० बजेदेखि हटेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता जनाएपछि कर्फ्यु हटाउने निर्णय गरिएको जानकारी दिए। “यहाँका दुई समुदायबीच सहमति कायम भएको र शान्ति–सुरक्षाको अवस्था सहज बन्दै गएकाले कर्फ्यु हटाउने निर्णय गरेका हौँ,” उनले भने, “अब जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ।”
बैठकले आन्दोलनरत पक्षले भविष्यमा कुनै पनि विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई उहाँसमक्ष ज्ञापनपत्र पेस गर्नुपर्ने र त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।
यस्तै, भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक तथा सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने उद्देश्यले जिल्लास्थित क्रियाशील राजनीतिक दल तथा विभिन्न धार्मिक समुदायका अगुवाहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय गरिएको प्रजिअ दाहालले जानकारी दिए।
संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहेका छन्। आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि र जिल्लास्थित राजनीतिक दलहरूका तर्फबाट एक–एक जना प्रतिनिधि थप गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, संयन्त्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि सदस्य रहने निर्णय भएको छ।
बैठकले सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार पत्रकारिता अपनाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ।
धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बैठकले स्पष्ट पारेको छ।
साथै, सबै पक्षले आ–आफ्नो समूहबाट भएका कमजोरीको समीक्षा गर्दै आ–आफ्नो समुदायका व्यक्तिहरूलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय गरेको छ।

