काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको दुईदिने विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम छ।
उद्घाटन सत्रअघि विशेष महाधिवेशन पक्षधरहरूले राजधानीमा शक्ति प्रदर्शनका रूपमा जुलुस निकाल्ने कार्यक्रम तय गरेका छन्। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायत स्थानबाट जुलुस निस्कनेछ।
सबै जुलुस कार्यक्रमस्थल भृकुटीमण्डपतर्फ केन्द्रित हुनेछन्।
महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि सुरु भएको छ। भृकुटीमण्डपको मूल गेट नजिकै राखिएका स्टलबाट नाम दर्ता गर्ने काम भैरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
गत असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। पार्टी विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
आयोजक पक्षले सम्पूर्ण तयारी पूरा भइसकेको दाबी गर्दै ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने विश्वास व्यक्त गरेको छ। महाधिवेशनका लागि बाहिर जिल्लाबाट आएका अधिकांश प्रतिनिधि शनिबार नै काठमाडौं आइपुगेका छन्।

