काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकताबद्ध रूपमा निर्वाचनमा होमिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। कांग्रेस चितवनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले आफ्ना कुरा स्पष्ट रूपमा राख्न र कसैलाई पनि लाञ्छित नगर्न आग्रह गरे।
उपसभापति शर्माले भने, “हामीले कसैलाई गाली नगरौँ। आफ्ना कुरा जनतामाझ स्पष्ट रूपमा राखौँ। निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ। हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा होमिनुपर्छ।”
पार्टीभित्र सम्पन्न विशेष महाधिवेशनले विगतका असमझदारीहरू मेटिएको उल्लेख गर्दै उनले गुटरहित मानसिकतासहित देश बदल्ने संकल्पका साथ निर्वाचनमा जानुपर्ने सन्देश दिन निर्देशन दिए।
उनले पार्टीले २१ फागुनलाई लक्षित गरी २१ दिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै भने, “अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रबाट खटाइएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिनुपर्छ। आफ्नो वडा छाडेर अर्काको वडामा जान आवश्यक छैन।” आफ्नै क्षेत्रमा सक्रिय भएर पार्टी र देश परिवर्तन गर्ने कांग्रेसको नीति घरघरमा पुर्याउन उनले आग्रह गरे।
कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले देशभर करिब ७५ प्रतिशत युवा तथा नयाँ उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै सबै उम्मेदवारलाई जिताउने गरी सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे।
त्यसैगरी चितवन प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं. २ की उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नं. ३ का उम्मेदवार टेकप्रसाद गुरुङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
कांग्रेसले गरेका कामबारे मतदातालाई जानकारी गराउँदै सबैलाई गोलबद्ध गर्ने अभियान आवश्यक रहेको उनीहरूको भनाइ थियो।

