काठमाडौं । राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकले विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्तासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेस गरेकी थिइन्।
स्मरणीय छ, राष्ट्रियसभाको २०८२ भदौ १३ गते बसेको बैठकले उक्त विधेयक राष्ट्रियसभाबाट उत्पत्ति गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
समितिका सभापति दाहालले विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव तथा विभिन्न सरोकारवालासँग चरणबद्ध रूपमा अनौपचारिक छलफल भएको जानकारी गराइन्।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते उक्त विधेयक फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट राष्ट्रियसभामा विधेयक फिर्ता माग्ने निर्देशन दिइएको थियो।

