काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ। भारतको कोलकतास्थित इडेन गार्डेनमा सोमबार भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रनमै अलआउट भयो।
इटालीका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले। उनले ३१ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ५२ रन बनाए। ह्यारी मनान्तीले ३७ रन जोडे भने जेजे स्मुल्सले २२ र एन्थोनी मोस्काले १३ रन बनाए।
स्कटल्यान्डको बलिङमा मिचेल लिस्कले चार विकेट लिए भने मार्क वाटले दुई विकेट हात पारे। ब्राड कुरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनाएको थियो। स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए। ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन बनाए भने माइकल जोन्सले ३७ रन जोडे। माइकल लिस्कले २२ र रिची बेरिङ्टनले १५ रन बनाए।
स्कटल्यान्ड र इटाली नेपालसहित समूह ‘सी’मा छन्। उक्त समूहमा वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन्। विश्वकपमा स्कटल्यान्डको यो दोस्रो खेल हो। यसअघि स्कटल्यान्ड वेस्टइन्डिजसँग पराजित भएको थियो। इटालीको भने यो पहिलो खेल हो।
समूह ‘सी’ अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो।

