श्रम, संस्कृति र माटोसँग जोडिएको फरक राजनीति
श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का तर्फबाट काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिव कर्माचार्य सँग टपटेन खबरका प्रतिनिधि सुधिर कर्माचार्यले लिएको अन्तर्वार्ता……..
श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का तर्फबाट काठमाडौँ–८ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा मैदानमा उत्रिनु भएका उम्मेदवार श्रम, संस्कृति र माटोसँग राजनीतिलाई जोड्ने स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहनु भएको छ। श्रमिक, किसान, साना व्यवसायी र उपेक्षित समुदायका आवाजलाई संसदसम्म पु¥याउने प्रतिबद्धतासहित उहाँको उम्मेदवारी अघि बढेको छ। मौलिक संस्कृति, स्थानीय पहिचान र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा दृढ धारणा राख्ने उहाँसँग गरिएको यो अन्तर्वार्ता काठमाडौँ–८ का जनताको दैनिक समस्या, रोजगारी, सुशासन र सम्मानजनक श्रमका विषयमा केन्द्रित छ।
१. श्रम संस्कृति पार्टीमा आबद्ध भएर काठमाडौँ–८ बाट उम्मेदवारी दिनु पर्ने प्रेरणा के हो ? खासगरी “माटो” चुनाव चिन्हले के सन्देश दिन्छ ?
देशको माटोको महत्त्व चिन्ने, माटोसँग जोडिएको हाम्रो पहिचान बुझ्ने र भावी सन्ततिको भविष्य सुरक्षित बनाउने सोच नै मेरो उम्मेदवारीको मूल प्रेरणा हो। “माटो” केवल चुनाव चिन्ह होइन, यो हाम्रो अस्तित्व, श्रम र संस्कृतिको प्रतीक हो। माटोमै पसिना बगाएर किसानले अन्न फलाउँछन्, श्रमिकले भवन बनाउँछन् र संस्कृति हुर्किन्छ। तर आज हामी माटोबाट टाढिँदै गइरहेका छौँ। त्यसैले माटोको महत्त्व बुझ्दै, स्थानीय स्रोत र क्षमतामा आधारित नीति बनाऔँ, यही सन्देश दिन माटो चुनाव चिन्ह लिएर जनतामाझ आएको हुँ।
२. काठमाडौँ–८ का जनताले आज सबैभन्दा ठूलो समस्या के भोगिरहेका छन् जस्तो तपाईंलाई लाग्छ ? ती समस्याको समाधान तपाईं कसरी गर्नुहुन्छ ?
काठमाडौँ–८ का जनताले अहिले मुख्यतः अनियन्त्रित बसाइँसराइ, बाहिरी जिल्लाबाट आएका व्यक्तिहरूको अव्यवस्थित अतिक्रमण र स्थानीय निकायमा मौलाएको भ्रष्टाचारको समस्या भोगिरहेका छन्। यसले स्थानीयको हक–अधिकार, रोजगारी र सांस्कृतिक पहिचानमाथि असर पारेको छ। यसको समाधानका लागि स्थानीय तहमा पारदर्शिता, कडा अनुगमन र नियमको समान कार्यान्वयन आवश्यक छ। जनताको प्रत्यक्ष सहभागितामा योजना बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने र स्थानीयलाई प्राथमिकता दिने व्यवस्था लागू गर्नुपर्छ।
३. श्रम र संस्कृतिलाई राजनीतिसँग जोड्नु पर्ने आवश्यकता किन देख्नुहुन्छ ? यो अवधारणा व्यवहारमा कसरी उतार्नुहुन्छ ?
देश बनाउने एउटै भरपर्दो उपाय श्रम हो। श्रम बिना विकास सम्भव छैन। साथै हाम्रो सांस्कृतिक सम्पदा र परम्परा हाम्रो पहिचान हुन्। यी दुवैलाई आधुनिक प्रविधिसँग जोड्न सके मात्रै दिगो विकास सम्भव हुन्छ। व्यवहारमा यसको अर्थ– स्थानीय सीपको संरक्षण, परम्परागत पेशालाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन र रोजगारी सिर्जना गर्नु हो। यसले संस्कृतिको संरक्षण मात्र होइन, आर्थिक आत्मनिर्भरता पनि सुनिश्चित गर्छ।
४. ठूला र पुराना दलहरूकै बीचमा नयाँ वा फरक दलका उम्मेदवारका रूपमा तपाईंले आफूलाई कसरी फरक देखाउनुहुन्छ ?
पुराना दलहरूले धेरै वर्ष शासन गरे, तर जनताका आधारभूत समस्या ज्यूँका त्यूँ छन्। म भ्रष्टाचारमुक्त समाज निर्माण र नागरिकको स्वाभिमान पुनःस्थापनालाई प्राथमिकता दिन्छु। भाषणभन्दा काम, आश्वासनभन्दा परिणाम र नेताभन्दा जनतालाई केन्द्रमा राख्ने राजनीति नै मेरो फरक पहिचान हो।
५. युवाहरू बेरोजगारी र वैदेशिक पलायनमा बाध्य भइरहेका छन्। यसलाई रोक्न तपाईंको ठोस योजना के छ ?
युवालाई देशमै रोजगारी दिनु आजको सबैभन्दा ठूलो चुनौती हो। त्यसका लागि साना तथा मझौला उद्योग स्थापना, स्थानीय उत्पादनलाई प्रोत्साहन र स्थानीय स्रोतको पहिचान गरेर बजारसम्म पुर्याउने नीति आवश्यक छ। विदेशी वस्तुको आयात घटाएर स्वदेशी उत्पादन प्रयोग गर्ने वातावरण बनाइयो भने रोजगारी पनि सिर्जना हुन्छ र अर्थतन्त्र पनि बलियो बन्छ।
६. काठमाडौँ जस्तो सहरमा स्थानीय संस्कृति, मौलिकता र पहिचान जोगाउन राज्यले के गर्नुपर्छ भन्ने तपाईंको धारणा के हो ?
राज्यले ‘गाउँ फर्कौं अभियान’ जस्तो कार्यक्रम ल्याउनुपर्छ। यसले शहरमाथिको चाप घटाउँछ र गाउँको विकास पनि गर्छ। साथै संस्कृतिमा देखिएको विकृतिमाथि कडा निगरानी, मौलिक चाडपर्व र परम्पराको संरक्षण तथा प्रचार राज्यको दायित्व हुनुपर्छ।
७. श्रमिक, किसान र साना व्यवसायीका अधिकार सुनिश्चित गर्न संसदमा पुगेपछि तपाईंले कुन–कुन विषयलाई प्राथमिकतामा राख्नुहुन्छ ?
अव्यवस्थित सुकुम्बासी समस्या समाधान, वास्तविक भूमिहीनलाई जग्गा वितरण, श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चितता र साना व्यवसायीलाई सहुलियत ऋण तथा बजार पहुँच उपलब्ध गराउने विषय मेरो प्राथमिकता हुनेछ।
८. वर्तमान संसद र सरकारप्रति जनतामा बढ्दो वितृष्णा छ। यसको मुख्य कारण के हो र समाधान कहाँ देख्नुहुन्छ ?
जनतासँग टाढिएको शासन प्रणाली, अपारदर्शिता र जवाफदेहिता नहुनु नै वितृष्णाको मुख्य कारण हो। समाधान भनेको जनतालाई साथमा लिएर विकास गर्नु, सरकारी कामको हिसाब–किताब सार्वजनिक गर्नु र जनप्रतिनिधिलाई प्रत्यक्ष रूपमा जनताप्रति उत्तरदायी बनाउनु हो।
९. चुनाव जितेपछि पाँच वर्षमा काठमाडौँ–८ का जनताले तपाईंबाट कस्तो प्रतिनिधि र कस्ता परिणामको अपेक्षा गर्न सक्छन् ?
म सचेत, इमानदार र जनताको आवाज बोल्ने प्रतिनिधि बन्न चाहन्छु। नेवार समुदायलगायत सबै समुदायलाई सचेत बनाउँदै सही–गलत छुट्याउने राजनीतिक चेतना फैलाउने, गुठी जग्गा हडपिएको भए संरक्षण गर्ने बलियो संयन्त्र बनाउने र भूमिबाट सम्भावित स्रोत पहिचान गरी पारदर्शी रूपमा विकास गर्ने मेरो लक्ष्य हुनेछ।
१०. अन्त्यमा, काठमाडौँ–८ का मतदातालाई माटो चुनाव चिन्हमा भोट हाल्नुपर्ने मुख्य कारण के हो ? जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?
म जनप्रतिनिधि बनेपछि कार्यालयमा मात्र सीमित हुने छैन। प्रत्यक्ष रूपमा घर–घरमा पुगेर समस्या सुन्ने र समाधान खोज्नेछु। माटो चुनाव चिन्हमा भोट दिनु भनेको श्रमको सम्मान, संस्कृतिको संरक्षण र स्वाभिमानी भविष्य रोज्नु हो। काठमाडौँ–८ का मतदातालाई यही सन्देश दिन चाहन्छु।

