काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई निकास दिने सबैभन्दा उपयुक्त विकल्प निर्वाचन नै भएको बताएका छन्।
काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनबाहेकका अन्य विकल्पतर्फ सोच्दा देश फेरि अर्को दुर्घटनामा पर्न सक्ने चेतावनी दिए। उनले राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रियातर्फ देशलाई लैजान निर्वाचन अपरिहार्य रहेको धारणा व्यक्त गरे।
‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो। अन्य विकल्पतिर सोचियो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ,’ उनले भने, ‘पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दसूची प्रस्तुत गर्दैछौँ।’
प्रचण्डले सबै राजनीतिक दल विभिन्न उतार–चढाव पार गर्दै निर्वाचनमार्फत नै देशलाई राजनीतिक स्थिरता र विकासको दिशामा अघि बढाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेको बताए। उनका अनुसार सबै दल निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण निर्माण भइसकेको छ।
उनले सामूहिक प्रयासबाट संकटमा परेको राष्ट्रलाई निकास दिन सकिने तथा अराजकता फैलिन सक्छ भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वकै काँधमा रहेको उल्लेख गरे। साथै, राजनीतिप्रति नवयुवाको चासो बढ्दै जानु सकारात्मक संकेत भएको पनि उनले बताए।

