नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले डिला संग्रौला पन्तलाई सहमहामन्त्री पदमा निर्वाचित गरेको छ। विशेष महाधिवेशनबाट कांग्रेसमा डिलासहित आठ जना सहमहामन्त्री निर्वाचित भएका हुन्।
महाधिवेशन गरेर मात्र आम निर्वाचनमा जानुपर्ने पक्षमा उभिएकी पन्त सभापति शेरबहादुर देउवा पक्षकी नेतृ हुन्। उक्त धारमा रहेका ३० केन्द्रीय सदस्यहरूमध्ये अधिकांश विशेष महाधिवेशनमा सहभागी भएका थिए भने केही विभिन्न पदमा निर्वाचितसमेत भएका छन्। डिलाको राजनीतिक पृष्ठभूमि नेविसंघ र नेपाल महिला संघसँग जोडिएको छ। उनी दाङको घोराही–टेरौटेमा २०२० सालमा जन्मिएकी हुन्। विवाहपछि उनी विराटनगरमा बसोबास गर्दै आएकी छन्।
कक्षा ९ मा अध्ययनरत रहँदा २०३६ सालमा बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यलगायत नेताहरूको भाषण सुन्न दाङ पुगेकी उनी त्यतिबेला नेताहरूलाई स्वागत गर्ने टोलीमा सहभागी थिइन्।क्याम्पस जीवनसँगै नेविसंघमा सक्रिय भएकी पन्तले कांग्रेसको आदर्श र सिद्धान्तलाई नजिकबाट बुझ्ने अवसर पाएकी थिइन्। यसअघि २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए पनि पराजित भएकी थिइन्।

