काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा आयोजना गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी तथा अन्य विभिन्न समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापन पूरा भएपछि पार्टीले एकताको औपचारिक घोषणा कार्यक्रमको आयोजना गरेको हो।
रास्वपाद्वारा जारी विज्ञप्तिअनुसार दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुनेछ। पुस १३ र १४ गते रास्वपाले बालेन साह र कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो।
सभामार्फत एकता प्रक्रियाले औपचारिक रूपमा पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
यसअघि हिजो आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले एकताबाट आएका नेता–कार्यकर्तालाई समेट्दै पदाधिकारी सहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो।

