काठमाडौँ । देशभर चिसो बढ्दै गएको छ। तराई, हिमाली क्षेत्र र काठमाडौँ उपत्यकासहित अधिकांश भूभागमा न्यूनतम तापक्रम निरन्तर घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार काठमाडौँमा यस वर्षकै सबैभन्दा चिसो मापन गरिएको छ। बिहान काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए। आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
पुस लागेपछि तराईका अधिकांश भूभाग हुस्सु र कुहिरोले ढाकिएका छन्।
मौसमविद् दाहालका अनुसार कुनै नयाँ मौसम प्रणाली विकसित नभएसम्म तराईमा हुस्सु कायमै रहने सम्भावना छ। दिउँसो केही स्थानमा आंशिक रूपमा मौसम खुले पनि उल्लेख्य सुधार नआउने उनले बताए।
हुस्सु र चिसोका कारण तराईका बासिन्दाको जनजीवन थप प्रभावित हुने देखिएको छ। हाल तराईका भूभागमा तापक्रम ५ देखि १२ डिग्री सेल्सियसको हाराहारीमा रहेको मौसम महाशाखाले जनाएको छ।

