काठमाण्डौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिलाकुमार चौहान पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी खड्ग खत्रीको घरमा तोडफोड तथा कुटपिट गरेको आरोपमा उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका वडाध्यक्ष चौहानले खत्रीको घरको ढोका हानेर तोडफोड गर्नुका साथै खत्रीकी श्रीमती र सोही घरमा डेरा गरी बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहालमाथि हेल्मेट प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले वडाध्यक्ष चौहानलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। उनलाई हाल प्रहरी हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

