काठमाडौँ । यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तीमा ८० जना सैनिक साउदी अरबको समर्थन प्राप्त सरकारी सेनासँग शुक्रबारदेखि सुरु भएको लडाइँ र हवाई आक्रमणमा मारिएका छन्। समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीलाई दिएको जानकारी अनुसार १३० जना बन्धक बनाइएका छन् भने १५२ जना घाइते भएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) समर्थित एसटिसीले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन साउदी समर्थित सेनाले शुक्रबारदेखि सैन्य अभियान थालेको हो। रियाद र अबु धाबीको समर्थन प्राप्त पक्षहरूबीच प्रभुत्वका लागि भएको संघर्षले दुई खाडी सहयोगी मुलुकबीचको दरार अझ गहिरिएको छ।
एसटिसीका अनुसार साउदी नेतृत्वको गठबन्धनले पृथकतावादीको कब्जामा रहेको सैन्य शिविरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा अधिकांश क्षति भएको हो। हद्रामावतस्थित अल–खाशा सैन्य शिविरमा शुक्रबार भएको आक्रमणमा मात्रै २० जनाको मृत्यु भएको बताइएको छ।
यसैबीच, एसटिसी नेतृत्वले शनिबार संसाधन–सम्पन्न हद्रामावत प्रान्त पुनः कब्जा गर्ने घोषणा गरेको छ। उता, रियाद–समर्थित सरकारी सैन्य अधिकारीहरूले छिमेकी माहरा प्रान्तका अधिकारीहरूले कुनै प्रतिरोधबिनै आफ्नो निष्ठा फिर्ता लिएको दाबी गरेका छन्।
आइतबार साउदी समर्थित सेनाले हद्रामावतको राजधानी मुकल्लामा आफ्नो उपस्थिति थप सुदृढ गरिरहेको दुई सरकारी सैन्य अधिकारीले एएफपीलाई बताएका छन्। रियाद र अबु धाबीले यमनको विभाजित सरकारभित्र लामो समयदेखि प्रतिद्वन्द्वी समूहलाई समर्थन गर्दै आएका छन्।
डिसेम्बरमा एसटिसीले हद्रामावत र माहरामा नियन्त्रण जमाएपछि साउदी अरब असन्तुष्ट बनेको थियो, जसले दुई तेल–धनी राष्ट्रबीचको सम्बन्धमा तनाव सिर्जना गरेको छ। साउदी नेतृत्वको गठबन्धनले पछिल्ला दिनमा पृथकतावादीहरूलाई कथित इमिराती हतियार ढुवानी रोक्न चेतावनी दिँदै बारम्बार हवाई आक्रमणसमेत गरेको छ।
शनिबार एसटिसीका एक सैन्य अधिकारीले मुकल्लाको पश्चिम क्षेत्रमा रहेको बार्सिदस्थित शिविरमा साउदी युद्धक विमानहरूले ‘व्यापक’ हवाई आक्रमण गरेको बताएका छन्।
Previous Articleनिर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत !
Next Article रुपाकोट मझुवागढीका वडाध्यक्ष चौहान पक्राउ

